बागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विकास निर्देशनालय

बागवानी विकास केन्द्र

दामन, मकवानपुर

परिचय

 बागवानी विकास केन्द्रमा स्वागत छ।

बागमती प्रदेश थाहा नगरपालिका वडा नम्बर ४ मा अवस्थीत यस बागवानी विकास केन्द्रको स्थापना मित्रराष्ट्र भारत सरकारको सहयोगमा त्रिभुवन राजपथ निर्माण कार्यको संगसंगै भएको हो । राजमार्ग आसपासको गा. वि. स. हरुमा उन्नत कृषि प्रविधि माध्यमबाट कृषकहरुको सामाजिक तथा आर्थिक स्थितिमा सकारात्मक परिवर्तन ल्याई जीवन स्तरमा सुधार ल्याउनु यस केन्द्रको प्रमुख लक्ष्य रहेको छ । हावापानी सुहाउदो हिऊँदे फलफुल तथा तरकारीका जातहरुको अध्ययन परिक्षण पश्चात  कृषक स्तरमा उन्नत प्रविधिको विकास र विस्तार गर्न २०१९ सालमा अचार्ड कम नर्सरीको नामबाट यस केन्द्रको स्थापना भएको थियो । २०२१ फाल्गुन २७ गते तत्कालिन स्व. राजा महेन्द्रवीर विक्रम शाहबाट विधिवत्  रुपमा उद्घाटन भए पश्चात् यस फार्मले आफ्ना गतिविधिहरु नियमित रुपमा संचालन  गर्दै आइरहेको छ ।

 

फार्मको कामलाइ व्यवस्थित गरि कार्य संचालन गर्न को लागी केहि जग्गा स्थानीय जनताबाट अधिकरण र केहि प्रति जग्गा लिई कुल ७६. २१५ हेक्टर क्षेत्रफलमा आफ्ना गतिविधिहरु यस फार्मले संचालन गर्दै आईरहेको छ । हावापानी सुहाउँदो उन्नतजातका तरकारी बीउ / बेर्ना उत्पादन, हिउँदे फलफूल कलमी बेर्ना उत्पादनका लागी आवश्यक पर्ने रुटस्टक विरुवा संकलन तथा उत्पादन गर्ने कार्य प्रारम्भिक चरणमा भएको थियो । २०२५ सालमा भारतबाट विभिन्न जातका हिउँदे फलफूल (स्याउ, नासपाती, आरु, आरुबखडा आदि) का विरुवा ल्याई माउबोट ब्लकको स्थापना गर्ने कार्यको थालनी भयो । तत्पश्चात् नियमित रुपमा बिउ / बेर्ना उत्पादन तथा विक्री वितरणका काम हरु गरिंदै आएको छ । 

भौगोलिक बनावटका हिसाबले पुर्व /उत्तर मोहडामा फैलिएर रहेको, माटो बलौटे दोमट किसिमको गह्रा कान्ला सहितको जमिनको अवस्था रहेको छ । 

हावापानीको दृष्टिले यो फार्म समुन्द्र सतहबाट २३२२ मिटर देखि २४२४ मिटर उचाइमा रहेको छ भने वार्षिक औसत अधिकतम तापक्रम २२ डिग्री सेल्सियस, न्युनतम तापक्रम ८ डिग्रि सेल्सियस, वार्षिक वर्षा ३००० देखि ३३९६ मिलिमिटर छ । यस क्षेत्रमा चैत्र देखि जेठ सम्म आसिना पर्ने र कार्तिकदेखि फाल्गुन सम्म तुसारो पर्दछ भने माघ देखि फाल्गुन महिना सम्म हिमपात समेत पर्ने गर्दछ ।

भू – उपयोग 

यस केन्द्रको कुल क्षेत्रफल मध्ये विभिन्न ब्लाकहरुको भू -उपयोग निम्नानुसार रहेको छ : 

फलफुल माउबोट ब्लकले ओगटेको क्षेत्रफल ३६. ९०८ हेक्टर 

फलफूल तथा स्टस्टक नर्सरिके ओगटेको क्षेत्रफल २.०० हेक्टर 

ताजा तरकारी / बीउ  उत्पादन ब्लकले ओगटेको क्षेत्रफल ५. ०० हेक्टर 

बीउआलु उत्पादन ब्लकले ओगटेको क्षेत्रफल ३. ०० हेक्टर 

भौतिक संरचनाले ओगटेको क्षेत्रफल ३. ०० हेक्टर

बुट्यान, सिमसार, खोला आदिले ओगटेको क्षेत्रफल २६. ३०७ हेक्टर 

कुल ७६. २१५ हेक्टर 

लक्ष्य 

फार्मको  कमाण्ड क्षेत्र भित्र रहेका दामन, पालुङ्ग, बज्रबाराही, टिस्टुङ्ग गा. वि. स. हरुमा स्थापना गरिएका निजि फलफुल नर्सरी, व्यवसायिक नमुना फलफूल बगैंचा र ताजातरकारी उत्पादन क्षेत्रमा आबद्ध रहेका समूह तथा सहकारीहरुमा उन्नत कृषि प्रविधि प्रसारको माध्यमबाट गुणस्तरीय बीउ / बेर्ना सुपथ मुल्यमा उपलब्ध गराई दिगो कृषि उत्पादनमा टेवा पुर्याउने र गरिबी न्यूनीकरण सहयोग पुग्ने खालका कार्यहरु गर्न आवश्यक सहयोग गर्ने । 

प्रमुख कार्यहरु 

राष्ट्रिय कृषि नीतिले लिएका उद्देश्य परिपूर्ति गर्न, कृषि उत्पादन एवं उत्पादकत्व वृद्धि गर्न, गुणस्तरीय बिउ बिजन र कलमी विरुवा उत्पादन गरि फलफूल विकास निर्देशनालय बाट श्रोत कायम गरिएका जिल्लाहरुमा हिउँदे फलफूल (स्याउ, नासपाति, आरु, आरुबखडा, ओखर, हलुवावेद, कटुस र  किवी) का कलमी विरुवा विक्री वितरण गरिदै आएको छ । हाल यस केन्द्रबाट संचालन गरिएका प्रमुख कार्यहरु निम्नानुसार रहेका छन् । 

  • हिउँदे फलफूलका कलमी विरुवा उत्पादन तथा विक्री वितरण 
  • कलमी गर्न रुटस्टक विरुवा उत्पादन 
  • बगैंचा तथा नर्सरी व्यवस्थापन 
  • बिउ आलु उत्पादन तथा विक्री वितरण 
  • तरकारी तथा आलंकारिक विरुवा उत्पादन तथा विक्री वितरण 
  • फलफूल तथा तरकारी जर्मप्लाजम संरक्षण र संवर्धन  
  • निजी नर्सरी, नमुना फलफूल बगैंचा अनुगमन निरीक्षण तथा प्राविधिक सेवा 
  • जनशक्ति विकास तर्फ फलफूल खेती, स्कुल हर्टिकल्चर कार्यक्रम संचालन स्थानीय एफ.एम बाट कृषि सम्बन्धि संदेश सूचना प्रसारण ।

उद्देश्य  

दीर्घकालीन फलफूल तथा तरकारीको आर्थिक र पौष्टिक महत्वका बारेमा कृषकहरुमा चेतना जगाई ताजा तरकारी तथा फलफुलको दैनिक उपभोगमा बृद्धि गराई कुपोषण बाट बच्न र स्वस्थ्य जिवनयापन गर्नमा सहयोग पुर्याउने । 

फलफूल, ताजातरकारी, आलु बालीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउन गुणस्तरीय बिउ /बिजन /बेर्नाको प्रयोग गर्न प्रोत्साहन गर्ने र प्रति ईकाई जग्गामा उत्पादकत्व वृद्धि गर्न टेवा पुर्याउने । 

पहाडी भूभाग मा बढ्दो भूक्षय रोक्न र भिरालो पाखो बारीहरुमा फलफुल खेतिको विस्तार गर्न बागवानी विकासको माध्यम बाट प्रविधि हस्तान्तरण गरि वातावरण संरक्षणमा सहयोग पुर्याउने ।