बागमती प्रदेश थाहा नगरपालिका वडा नम्बर ४ मा अवस्थीत यस बागवानी विकास केन्द्रको स्थापना मित्रराष्ट्र भारत सरकारको सहयोगमा त्रिभुवन राजपथ निर्माण कार्यको संगसंगै भएको हो । राजमार्ग आसपासको गा. वि. स. हरुमा उन्नत कृषि प्रविधि माध्यमबाट कृषकहरुको सामाजिक तथा आर्थिक स्थितिमा सकारात्मक परिवर्तन ल्याई जीवन स्तरमा सुधार ल्याउनु यस केन्द्रको प्रमुख लक्ष्य रहेको छ । हावापानी सुहाउदो हिऊँदे फलफुल तथा तरकारीका जातहरुको अध्ययन परिक्षण पश्चात कृषक स्तरमा उन्नत प्रविधिको विकास र विस्तार गर्न २०१९ सालमा अचार्ड कम नर्सरीको नामबाट यस केन्द्रको स्थापना भएको थियो । २०२१ फाल्गुन २७ गते तत्कालिन स्व. राजा महेन्द्रवीर विक्रम शाहबाट विधिवत् रुपमा उद्घाटन भए पश्चात् यस फार्मले आफ्ना गतिविधिहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ ।
फार्मको कामलाइ व्यवस्थित गरि कार्य संचालन गर्न को लागी केहि जग्गा स्थानीय जनताबाट अधिकरण र केहि प्रति जग्गा लिई कुल ७६. २१५ हेक्टर क्षेत्रफलमा आफ्ना गतिविधिहरु यस फार्मले संचालन गर्दै आईरहेको छ । हावापानी सुहाउँदो उन्नतजातका तरकारी बीउ / बेर्ना उत्पादन, हिउँदे फलफूल कलमी बेर्ना उत्पादनका लागी आवश्यक पर्ने रुटस्टक विरुवा संकलन तथा उत्पादन गर्ने कार्य प्रारम्भिक चरणमा भएको थियो । २०२५ सालमा भारतबाट विभिन्न जातका हिउँदे फलफूल (स्याउ, नासपाती, आरु, आरुबखडा आदि) का विरुवा ल्याई माउबोट ब्लकको स्थापना गर्ने कार्यको थालनी भयो । तत्पश्चात् नियमित रुपमा बिउ / बेर्ना उत्पादन तथा विक्री वितरणका काम हरु गरिंदै आएको छ ।
भौगोलिक बनावटका हिसाबले पुर्व /उत्तर मोहडामा फैलिएर रहेको, माटो बलौटे दोमट किसिमको गह्रा कान्ला सहितको जमिनको अवस्था रहेको छ । हावापानीको दृष्टिले यो फार्म समुन्द्र सतहबाट २३२२ मिटर देखि २४२४ मिटर उचाइमा रहेको छ भने वार्षिक औसत अधिकतम तापक्रम २२ डिग्री सेल्सियस, न्युनतम तापक्रम ८ डिग्रि सेल्सियस, वार्षिक वर्षा ३००० देखि ३३९६ मिलिमिटर छ । यस क्षेत्रमा चैत्र देखि जेठ सम्म आसिना पर्ने र कार्तिकदेखि फाल्गुन सम्म तुसारो पर्दछ भने माघ देखि फाल्गुन महिना सम्म हिमपात समेत पर्ने गर्दछ ।
भू – उपयोग
यस केन्द्रको कुल क्षेत्रफल मध्ये विभिन्न ब्लाकहरुको भू -उपयोग निम्नानुसार रहेको छ :
फलफुल माउबोट ब्लकले ओगटेको क्षेत्रफल ३६. ९०८ हेक्टर
फलफूल तथा स्टस्टक नर्सरिके ओगटेको क्षेत्रफल २.०० हेक्टर
ताजा तरकारी / बीउ उत्पादन ब्लकले ओगटेको क्षेत्रफल ५. ०० हेक्टर
बीउआलु उत्पादन ब्लकले ओगटेको क्षेत्रफल ३. ०० हेक्टर
भौतिक संरचनाले ओगटेको क्षेत्रफल ३. ०० हेक्टर
बुट्यान, सिमसार, खोला आदिले ओगटेको क्षेत्रफल २६. ३०७ हेक्टर
कुल ७६. २१५ हेक्टर

